कतारलाई सहयोग गरेपनि हामीले केही लिन सकेनौं

 खाडीका विभिन्न देशमा झण्डै २३ लाख नेपाली कार्यरत छन् । यिनै देशमा कार्यरत नेपालीको पसिनाले अहिले देशको अर्थतन्त्रमा ठूलो टेवा पुगेको छ । जीवनस्तर उकास्न पनि उतिकै सहयोग छ । त्यसो त काम खोज्दै खाडीका देशमा पुगेका नेपालीका समस्या पनि उस्तै छन् । समस्या दिनानुदिन बढ्दो छ । समधानका लागि हामी हात बाँधेर बसिरहेका छौं ।

खाडीका देशमा जाने नेपालीका समस्या उहाँ पुगेपछि भएका हैनन् । नेपालबाटै सुरु भएका हुन् । घरबाट समस्या सुरु भएको छ । जुन दिन विदेश जाने निर्णयमा पुग्छन्, त्यही दिनबाट सुरु हुन्छ समस्या । यसको मुख्य कारण कामदारको म्यानपावरसम्म पहुँच नहुनु र दलालको चलखेल बढ्नु हो । ६ तहसम्म दलाल हुन्छन् । त्यसपछि मात्रै म्यानपावर र रोजगारदाता कम्पनीको हातमा उसको राहदानी पुग्छ । विदेश जाने कामदारले सबै कामको जिम्मा दलाललाई दिन्छन् । दलालका पनि दलाल हुन्छन् । म्यानपावर कम्पनीले फेरि दलालमार्फत कामदारलाई जानकारी गराउने हो । दलालले सही जानकारी दिँदैनन् । अनि कामदार ठगिन्छन् । कामदार आफैंका कारण पनि समस्या भएको हो । विदेश जानु पहिले नेपालमा अभिमुखिकरण तालिम हुन्छ, तर कामदार तालिम लिँदैनन् । पैसा खुवाएर तालिम लिएको प्रमाण पत्र बनाउँछन् ।

दलाललाई कामदार पठाएर आफ्नो भाग लिन पाए भयो । कामदार आफैं आफ्नो बारेमा चिन्ता लिँदैनन् भने दलालले किन लिन्थे । उनीहरुले गन्तव्य देशको भाषा जानेको हुँदैन । काम जानेको हुँदैन । त्यहाँको नीति नियम र रहनसहनको कुरा थाहा हुँदैन । अभिमुखिकरण तालिम पनि औपचारिकतामा सीमित छ । खासै प्रभावकारी छैन । गन्तव्य देशसँग व्यवहारिक हुन सकिरहेको देखिँदैन । तालिम परिवर्तन गरेर प्रभावकारी बनाउन जरुरी छ । तालिम लिने अवधि पनि बढाउनु पर्छ । सीपको र नियम कानुनको तालिम छुटाछुट्टै दिनुपर्छ । सवारी चालकका लागि तालिम दिँदा साना सवारीमा दिएर पठाईन्छ, उहाँ ठूला सवारी चलाउनुपर्छ अनि उ असक्षम ठहरिन्छ र त्यो काम पाउँदैनन् ।

कुकका लागि जाँदा यहाँको खाना बनाउन सिकेका हुन्छन्, त्यहाँ यस्तो खाना मन पराउँदैनन् अनि असक्षम हुन्छन्, भनेको काम पाउँदैनन् । कम्पनीले काम नजानेपछि भनेको तलव पनि दिँदैन । दिएपनि यहाँ नेपालमा धेरै लोभ देखाएका हुन्छन् त्यो अनुसार त्यहाँ नपाउन सक्छन् । अनि भनेको समयमा फर्कन पनि पाईंदैन । कामदार फर्किंदा उसलाई पनि घाटा हुन्छ । फेरि नेपाल र कतारबीच लामो समयदेखि श्रम सम्झौताको पुनरावलोकन पनि हुन सकेको छैन् । हरेक दुई वर्षमा आलोपालो बैठक गरी श्रम सम्झौताको पुनरावलोकन गर्ने भनिएको थियो । यसले पनि नेपाली कामदारलाई थप शोषणमा पारेको हो । अहिलेसम्मको शाख भनेको नेपाल सरकारको कुटनीतिक कारणले भन्दापनि नेपाली क ामदारको इमानदारिता र लगनशिलताले जोगिएको हो ।

कतारमा नेपाली कामदारलाई धेरै राम्रो मानिन्छ । त्यहाँका उच्च अधिकारीहरुले पनि नेपाली कामदारको तारिफ गर्छन् । नेपालीहरु कतारका राजाको सुरक्षा अँगको रुपमा समेत कार्यरत छन् । अन्य निकायका माथिल्लो तहमा पनि नेपाली कामदार छन् । तलवको कुरा गर्ने हो भने १ करोड नेपाली रुपैयाँ बुझ्ने पनि भेटेँ ।  नेपाली कामदारको ईमान्दारिताका कारण त्यहाँ नेपाली कामदारको माग कुनैपनि हालतमा घट्दैन । तर हामीले ईमान्दारिताको शाख जोगाईराख्न भने सक्नुपर्छ । नेपालीहरु छिटफुट घटनामा संलग्न पनि छन् त्यसलाई पनि कम गर्न सक्नुपर्छ । केही देशले नेपाली कामदार काम जाउन भनेर नेपाल र कतारको सम्बन्ध बिगार्ने प्रयत्न पनि नगरेका हैनन् । तर कतारले पनि नेपाली कामदारको योगदानलाई सहजै भुल्ने छैन । नेपालले क्षमता भएका कामदार पठाएर ठूला सहयोग गरेको कतारको बुझाई छ । बिडम्वना हामीले कतारलाई सहयोग गरेपनि हामीले केही लिन सकेनौं । काम गरेवापत कामदारले त मासिक तलव पाए राज्यले के पायो ? भन्ने प्रश्न आउँछ । हामीले उनीहरुलाई कामदार सहयोग गरौं तर त्यसवापत केही पनि लिन सकेनौं । यो कुटनीतिक कमजोरी हो ।

कतारले फ्रि भिषा २०१२ देखि लागु गरेको छ । विडम्बना भन्नुपर्छ, हामीकहाँ भरखर चर्चा सुरु भयो । फ्रि भिषा कार्यन्वयन हुँदा नेपाली कामदारले रोजगार पाउँदैनन् भन्ने तर्क पनि सुने तर त्यसमा कुनै तुक छैन् । मैले बुझेको त नेपाली कामदार चाहिन्छ भने कामदारलाई सहयोग गर्न कम्पनी तयार हुनुपर्छ र कतारमा छन् पनि । कतारमा नेपालीका लागि थुप्रै अरु पनि रोजगारीका संभावना छन् । नेपालमा रोजगार सिर्जना गर्न नसकेसम्म यस्ता अवसरको खोजी गर्न हामी चुक्नु हुन्न । तर हामीले पनि दक्ष कामदार उत्पादन गर्नुपर्छ । कामदारको दक्षतामा ध्यान दिन सकियो भने उसले नेपाल र जुन देशमा गएपनि राम्रो गर्न सक्छ । दक्षता नभएकाले आफ्नै देशमा त रोजगार पाउँदैनन् भने अर्काको देशमा आशा गर्नु बेकार छ ।

– (रमजान अली मियाँसँग उजिर कार्कीले  गरेको कुराकानीमा आधारित । मियाँले कतारको कानुन नेपालीमा अनुवाद गर्नु भएको छ ।उहाँ गृह मन्त्रालय कतारको जनसम्पर्क विभागका कानूनी परामर्शदाता  हुनुहुन्छ ।)

आफ्नो प्रतिकृया दिनुहोस
(Visited 3,731 times, 1 visits today)

Comments are closed.