बदल्यो गुगलले आफ्नो लोगो

google new logo

इन्टरनेट जाएन्ट गुगलले आफ्नो बहुचर्चित लोगोमा सामान्य परिवर्तन गरेको छ । गुगल सर्चको विद्यमान लोगोको ठाउँमा गुगलले नयाँ लोगो सार्वजनिक गरेको हो ।

नयाँ लोगोमा पूरानो लोगोका अक्षरहरुको ढाँचामा परिवर्तन तथा सरलीकरण गरिएको छ ।

अहिले गुगलका प्रयोगकर्ता केवल डेक्स्टपबाट नभएर धेरै मोबाइल डिभाइसबाट समेत गुगल प्रयोग गर्ने गरेको हुँदा पछिल्लो परिवर्तन आवश्यक भएको गुगलले दाबी गरेको छ ।

गुगलले आफ्नो सांगठनिक पुनर्संरचना गरी मातृ कम्पनी अल्फाबेटको मातहत रहेपछि गुगलमा गरिएको यो महत्वपूर्ण परिवर्तन हो ।

भिडियो हेर्नुहोस्


पछिल्लो लोगो डेक्स्टप कम्प्युटरसँगै विभिन्न स्क्रिनका मोबाइलहरुमा पनि गुगल चलाउँदा राम्रोसँग काम गर्ने बताइएको छ ।

साथै गुगलले आफ्ना पूरा नामको लोगो सँगै चार थोप्लाको बहुरंगी लोगो तथा गुगललाई जनाउने बहुरंगी जी अक्षरको लोगोको प्रयोग गर्ने योजना पनि बनाएको छ । गुगलको सर्च इन्जिन पेजमा पूरानो लोगोलाई हातले मेटेर नयाँ लोगोसँगै यी बहुरंगी थोप्ने तथा जी अक्षरको लोगो लेखिएको देखाइएको छ ।

गुगलले आफ्नो ब्लगमार्फत लोगो परिवर्तनको घोषणा गर्दै नयाँ लोगो पूरानो भन्दा कुन कुन हिसाबले फरक छ भन्ने भिडियोमार्फत देखाएको छ । साथै नयाँ लोगो सरल, रंगीन तथा प्रयोगमैत्री रहेको र गुगलको सर्वोत्तम प्रतिनिधि रहेको दाबी गरेको छ ।

पहिलोपटक सन् १९९८ मा सार्वजनिक गरिएको गुगलको लोगो त्यसयता पटक पटक परिवर्तन भैसकेको छ । पछिल्लोपटक सन् २०१३ मा गुगलले आफ्नो लोगोलाई परिवर्तन गर्दै फ्लाट लुक्स दिएको थियो ।

स्रोत : अन्लाईनखबर

आफ्नो प्रतिकृया दिनुहोस
(Visited 37 times, 1 visits today)

Comments are closed.